नेभिगेशन
राजनीति

कुलमान घिसिङसहित तीन मन्त्री आज शपथ ग्रहण गर्दै

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गठन गरेको मन्त्रिपरिषद् विस्तारसँगै आज सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

आइतबार साँझ घोषित नयाँ मन्त्रीहरूमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, कानुनविद् ओमप्रकाश अर्याल र पूर्वअर्थसचिव रामेश्वर खनाल रहेका छन्।

घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। विद्युत् आपूर्ति सुधारमा देखाएको उनको नेतृत्वले उनले व्यापक लोकप्रियता कमाएका थिए।

त्यसैगरी, कानुन र गृह मन्त्रालयको जिम्मेवारी चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई दिइएको छ। हालैसम्म उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकारको भूमिकामा थिए।

अर्थ मन्त्रालयको जिम्मा भने रामेश्वर खनाललाई दिइएको छ, जसले विगतमा अर्थसचिवको रूपमा लामो अनुभव बटुलेका छन्।

अन्य मन्त्रीहरूको नाम अझै तय भएको छैन। जेनजी आन्दोलनको पृष्ठभूमिबाट बनेको कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा चुनाव गर्ने घोषणा गरिसकेको छ।

गत साता काठमाडौंसहित विभिन्न ठाउँमा जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शन हिंसात्मक भएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएका थिए। ओलीको राजीनामापछि गत शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्