काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारमा कानुन तथा गृहमन्त्रीको जिम्मेवारी अधिवक्ता ओमप्रकाश अर्याललाई दिन तयारी गरेपछि जेनजी समूहले बालुवाटारमै विरोध प्रदर्शन गरेका छन्।
आइतबार साँझ प्रधानमन्त्री निवास अगाडि सुदन गुरुङको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले मन्त्री छनोटप्रति असन्तोष प्रकट गर्दै ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाए।
निवासको तीन नम्बर गेटमा उपस्थित प्रदर्शनकारीलाई सम्बोधन गर्दै गुरुङले भने, “सबैभन्दा शक्तिशाली नेपाली जनता हुन्। हामीलाई कसैले रोक्न सक्दैन। जसलाई राख्छौँ, निकाल्न पनि सक्छौँ।”
अर्याललाई गृहमन्त्री बनाउनु नहुने र बरु जेनजी समूहकै अग्रणी व्यक्तिलाई त्यो जिम्मेवारी दिनुपर्ने माग केही युवाहरूको छ। उनीहरूले सुदन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने वा अर्को जेनजी सदस्यलाई पठाउनुपर्ने अडान राखेका छन्। तर, केही युवाले भने गुरुङकै गतिविधिप्रति असन्तोष व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार, ओमप्रकाश अर्याललाई कानुन तथा गृह, र रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने निर्णय गरेपछि जेनजी भित्र विवाद चुलिएको हो। अरू नाममा विरोध नगरेका उनीहरूले विशेष गरी अर्यालको नियुक्तिमा आक्रोश देखाएका छन्।