काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी छोडेको सार्वजनिक गर्दै नेतृत्वप्रति कडा असन्तोष व्यक्त गरेकी हुन्।
श्रेष्ठले पार्टीभित्र गल्तीलाई स्वीकार नगर्ने, बारम्बार गल्ती दोहोर्याउने र त्यसको जिम्मेवारी सबै सदस्यमाथि थोपर्ने प्रवृत्तिप्रति प्रश्न उठाएकी छन्। साथै, आलोचना गर्ने नेताहरूमाथि "मिडिया ट्रायल" गर्ने प्रवृत्ति रहेको आरोप समेत लगाइन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “जहिलेदेखि पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि म निरन्तर आलोचना गर्दै आएको थिएँ। तर त्यो बेवास्ता गरियो, बरु उल्टै मिडिया ट्रायल गरियो। यो स्विकार्य छैन। अब म पार्टी त्याग्दैछु।”
त्यस्तै, श्रेष्ठले अन्य दलका नेताहरूलाई पनि नेतापूजाको संस्कार अन्त्य गर्न सुझाव दिँदै, “पुजा गर्ने नेतृलाई हटाउनु या आफू हट्नु उत्तम विकल्प हो” भन्ने टिप्पणी गरेकी छन्।