नेभिगेशन
राजनीति

प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी

काठमाडौं । भदौ २७ गते राति राष्ट्रपति कार्यालयले जारी गरेको प्रतिनिधि सभा विघटनसम्बन्धी विज्ञप्तिप्रति आठ वटा राजनीतिक दलहरूले असहमति जनाएका छन्।

शनिबार सार्वजनिक गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विघटनको कदमको विरोध गरेका हुन्।

विज्ञप्तिमा आठ दलका प्रमुख सचेतक र एक दलका अध्यक्षले हस्ताक्षर गरेका छन्। उनीहरूले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन माग गर्दै तत्काल संसद् बैठक बोलाएर जनताको माग र आन्दोलनरत समूहका प्रश्नहरू संसद्मार्फत सम्बोधन गर्न जोड दिएका छन्।

दलहरूले संविधान र प्रचलित कानुनअनुसार सुशासनको मागमा भइरहेको आन्दोलनलाई उल्ट्याउँदै संसद् पन्छाएर सडकबाट सरकार गठन र प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक तथा असंवैधानिक अभ्यास गरिएको आरोप लगाएका छन्।

साथै, लोकतान्त्रिक शासनव्यवस्था र कानूनी राज्यमा समस्या समाधान संविधान र कानुनकै आधारमा हुनुपर्ने भन्दै आठ दलले अटल प्रतिबद्धता व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र तथा संविधानको भावनाविपरीत उठाइएको यो कदम कुनै हालतमा स्वीकार्य हुँदैन।”

Photo-(4)-1757764578.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्