नेभिगेशन
राजनीति

उपप्रमुख डङ्गोलले दिइन नेपालको पहिलो महिला प्रधानमन्त्रीलाइ बधाई

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत डङ्गोलले कार्कीको नियुक्तिलाई केवल ऐतिहासिक र गौरवपूर्ण क्षण मात्र नभई मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर समेत भएको बताएकी छन्।

उनले नवनियुक्त प्रधानमन्त्रीलाई बदलाको भावनाभन्दा माथि उठी जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न आग्रह गरेकी छन्।

“नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,” डङ्गोलले लेखेकी छन्।

त्यस्तै उनले प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको बलिदानलाई सम्मान गर्दै द्वन्द्वको सट्टा संवाद, विभाजनको सट्टा एकता, निराशाको अन्त्य गर्दै आशा र सुशासनको बाटोमा देशलाई अघि बढाउने दृढ विश्वास आफू र सम्पूर्ण महिला दिदीबहिनीहरूले राखेको उल्लेख गरेकी छन्।

साथै उनले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्