काठमाडौं — सेप्टेम्बर ८ देखि सुरु भएको ‘नेपोबेबीज’ अभियानमार्फत जेन–जी पुस्ताले उठाएको आन्दोलन केही घन्टामै देशव्यापी बनेपछि राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन, आगजनी र तोडफोडका घटना भए। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि दलका कार्यालयसमेत आक्रमणमा परेपछि सरकारले सेना परिचालन गरी उपत्यकासहितका जिल्लामा कर्फ्यु लगाएको छ।
आन्दोलनको प्रभाव बढेसँगै विभिन्न दलका नेताहरूले प्रतिक्रिया दिएका छन्। उनीहरूको साझा भनाइमा आन्दोलनका मागहरू भ्रष्टाचारविरुद्ध र सुधारमुखी छन्, तर आन्दोलनमा नियोजित घुसपैठका कारण हिंसा र विध्वंस भएको छ।
एमाले सदस्य प्रतिक्षा तिवारीले युवाको आक्रोश जायज भए पनि सार्वजनिक सम्पत्तिमा भएको आगजनी जेनजीको असली माग नभएको बताइन्। उनले बाह्य शक्ति र निहित स्वार्थ समूहको घुसपैठले आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगाइन्। एमाले कार्यकर्ता नवराज श्रेष्ठले आन्दोलनलाई परिवर्तनको संकेतका रूपमा लिनुपर्ने बताए, तर लामो समयदेखिको शासकीय कमजोरी र ढिलासुस्तीका कारण घटना बढेको स्वीकारे।
कांग्रेसतर्फबाट प्रदेश सदस्य कैलाश केसीले सुरुमै षड्यन्त्रपूर्ण घुसपैठ भएकै कारण जनधनको क्षति भएको बताए। कांग्रेस प्रतिनिधि नविन लामाले भ्रष्टाचारविरुद्धको मुद्दा सबै नेपालीको साझा एजेन्डा भएको बताउँदै आन्दोलनमा स्वदेशी–विदेशी तत्वले अशान्ति मच्चाएको दाबी गरे। त्यस्तै, कांग्रेस सदस्य राजु पाथिकले ‘सार्वजनिक सम्पत्ति जलाउने काम जेनजी युवाले नभई नियोजित समूहले गरेको’ उल्लेख गर्दै संविधानकै दायराभित्र समाधान खोज्नुपर्नेमा जोड दिए।
नेताहरूको निष्कर्षमा जेनजीले उठाएका प्रश्नहरू लोकतान्त्रिक सुधारका लागि महत्वपूर्ण भए पनि आन्दोलनमा भएको हिंसा र तोडफोडले यसको नैतिक आधार कमजोर भएको छ। उनीहरूको भनाइमा संसद विघटन वा संविधानबाहिरको बाटो समाधान होइन, बरु संविधान र लोकतन्त्रकै दायरामा रही शान्तिपूर्ण निकास खोजिनुपर्छ।