नेभिगेशन
राजनीति

अन्तरिम सरकारको नेतृत्वमा कार्कीलाई भट्टराईको समर्थन

काठमाडौं — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको उल्लेख गर्दै उनलाई नेतृत्व दिनु सकारात्मक कदम हुने टिप्पणी गरेका हुन्।

भट्टराईले भनेका छन्, “नयाँ नेपालको नेतृत्व गर्न उत्सुक जेन–जीका युवाहरूले अन्तरिम सरकारको प्रमुखका रूपमा कार्कीलाई सिफारिस गर्नु अत्यन्तै उचित छ। वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्छ। हाम्रो तर्फबाट पनि पूर्ण समर्थन र अग्रिम बधाई।”

उनले संविधानको आधारमा राष्ट्रपतिले कार्कीलाई शपथ दिलाएर देशमा देखा परेका अन्योल र आशंकालाई शीघ्र अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। साथै, यसबारे उपयुक्त विधि संविधानविद्हरू र विशेषज्ञहरूको सल्लाहमा तय गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।

त्यस्तै, भट्टराईले २०६९ सालमा खिलराज रेग्मीलाई प्रधानमन्त्री नियुक्त गरिएको घटनासँग अहिलेको परिस्थितिलाई तुलना गर्न नमिल्ने बताए। उनका अनुसार, त्यतिबेला ‘अन्तरिम संविधान २०६३’ ले राजनीतिक सहमतिको आधारमा निर्णय गर्ने व्यवस्था गरेको थियो भने अहिलेको स्थायी संविधानमा त्यस्तो प्रावधान छैन।

उनले जेन–जीलाई संवेदनशील भएर सोच्न आग्रह गर्दै भनेका छन्, “अहिले लागू भएको संविधान ऐतिहासिक आन्दोलन र बलिदानका आधारमा संविधानसभाबाट बनेको पहिलो संविधान हो। त्यसैले दीर्घकालीन हितका लागि यसकै जगमा टेकेर अघि बढ्नु आवश्यक छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्