नेभिगेशन
राजनीति

पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बन्ने सम्भावना प्रबल देखिएसँगै बधाई दिँदै तत्काल लागू गर्न सकिने व्यावहारिक कदमहरू चाल्न सुझाव दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत बस्नेतले आन्दोलनका क्रममा मृत्यु भएकाहरू र घाइतेहरूलाई न्याय दिलाउने, राहत कोष स्थापना गर्ने र पुनर्निर्माणमा पारदर्शिता सुनिश्चित गर्ने जस्ता प्राथमिक कार्यलाई तत्काल अघि बढाउनुपर्ने बताए। उनका अनुसार, अहिले देशले नेतृत्वसँगै न्यायको खोज गरिरहेको छ र कार्की नेतृत्वमा त्यो अपेक्षा पूरा हुने विश्वास जनाए।

बस्नेतले प्रस्तुत गरेका प्रमुख सुझावहरू यसप्रकार छन्:

१. मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति — स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने र दोषीलाई कारबाहीमा ल्याउने।

२. राहत तथा पुनस्र्थापना कोष — आन्दोलनबाट प्रभावित परिवारलाई तलब, उपचार र अस्थायी आवासको व्यवस्था मिलाउन सार्वजनिक–निजी साझेदारीमा कोष स्थापना गर्ने।

३. न्याय र दण्ड सुनिश्चित गर्ने व्यवस्था — हिँसा, दुरुपयोग र अपराधमा संलग्नलाई राजनीतिक पक्षपातबिनै प्रमाणका आधारमा कारबाही गर्ने।

४. सुरक्षा र सम्पत्ति संरक्षण — व्यवसाय, विद्यालय, अस्पताल तथा सार्वजनिक संरचनाको सुरक्षा पुनःस्थापना गर्ने, बीमा दाबी छिट्टै टुंग्याउने र साना व्यवसायलाई ब्याजमुक्त ऋण उपलब्ध गराउने।

५. रोजगारी र आर्थिक पुनरुत्थान योजना — प्रभावित उद्योगलाई कर छुट, अनुदान र सीप तालिममार्फत पुनःस्थापना गर्ने तथा युवाहरू र गृहिणीहरूलाई लक्षित रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउने।

६. शिक्षा र नागरिक सेवा सञ्चालन — विद्यालय, कलेज र सरकारी कार्यालयहरू तत्काल सञ्चालन गर्ने, आवश्यक सेवाका लागि अस्थायी मोबाइल टोली खटाउने।

७. पारदर्शी पुनर्निर्माण — पुनर्निर्माणका लागि तोकिएको रकम र समयसीमा सार्वजनिक गर्ने र नागरिक समाजले अनुगमन गर्न सक्ने व्यवस्था गर्ने।

बस्नेतले वर्तमान संकटलाई केवल भौतिक संरचना नभई रोजीरोटी, शिक्षा र भविष्यसँग जोडिएको बताउँदै, आर्थिक क्षतिको साथै आत्मगौरवमा पनि चोट परेको टिप्पणी गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्