नेभिगेशन
राजनीति

धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग, ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले २२ बुँदे मागपत्र बुझाएका छन्। लगानीकर्ताहरूले उठाएका विषयलाई सम्बोधन नगरे ठूलो संकट निम्तिने चेतावनीसमेत दिएका छन्।

आइतबार तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले मागपत्र बुझाउँदा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दोस्रो बजारलाई प्राथमिकतामा राखेर सुधार र विस्तारका काम तत्काल अघि बढाउने प्रतिबद्धता जनाए।

उनले भने, “सुरुदेखि नै मेरो धारणा दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने हो। खासगरी साना लगानीकर्ताले भोगिरहेको समस्यालाई बेवास्ता गर्न सकिन्न। कम्पनीहरूको पुँजी संकलन पनि महत्त्वपूर्ण छ, तर लगानीकर्ता र कम्पनी दुवैको हित सन्तुलनमा राख्दै अघि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु।”

श्रेष्ठले आफू बोर्डमा जिम्मेवारी सम्हालेदेखि नै लगानीकर्ताको हितलाई केन्द्रमा राख्दै आएको बताए। उनले थपे, “तपाईंहरूले उठाएका विषयमा म पनि चिन्तित छु र सुधारतर्फ कदम चालिनेछ।”

लगानीकर्ताले बोर्डलाई बुझाएको २२ बुँदे मागमा, सबै सूचीकृत कम्पनीमा संस्थापक हिस्सेदारी ५१ प्रतिशत कायम गर्नुपर्ने, ब्रोकरमार्फत मार्जिन ट्रेडिङ तत्काल सुरु गर्नुपर्ने, कानूनी व्यवस्था नभएसम्म नयाँ आईपीओ रोकिनुपर्ने, प्राथमिक तथा द्वितीयक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउनुपर्ने, र सबै आईपीओमा बुक बिल्डिङ अनिवार्य गर्नुपर्ने जस्ता बुँदा समावेश छन्।

लगानीकर्ताहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए पुँजी बजारमा अप्रत्याशित संकट आउनेछ, जसले ७० लाखभन्दा बढी लगानीकर्ता, ९३ दलाल, दर्जनौँ मर्चेन्ट बैंक, सरकार र अन्य सरोकारवालालाई ठूलो क्षति पुर्‍याउनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्