नेभिगेशन
सलिमा

नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो–२०२५ आयोजना हुँदै

काठमाडौं । ‘स्टडी इन अष्ट्रेलिया’ नारासहित काठमाडौंमा यस वर्षकै सबैभन्दा ठूलो अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ। नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ नाम दिइएको यो मेला भदौ २९ गते नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने मेलामा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन्। विद्यार्थीहरूले शैक्षिक ऋण, भिसा प्रक्रिया, भर्ना प्रक्रिया, छात्रवृत्ति र बीमा सेवाबारे प्रत्यक्ष जानकारी पाउने अवसर पाउनेछन्।

आयोजकका अनुसार कक्षा १२ सकेका विद्यार्थीदेखि स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

नायरका अध्यक्ष उद्धव खड्काले मेलाले विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी सम्पूर्ण परामर्श निःशुल्क उपलब्ध गराउने बताए। साथै विभिन्न छात्रवृत्ति अवसरको व्यवस्था गरिएको र विद्यार्थीहरूलाई प्रत्यक्ष आवेदन गर्ने वातावरण मिलाइएको जानकारी दिए।

मेलाको इभेन्ट म्यानेजमेन्ट इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले गर्नेछ भने नायरका अध्यक्ष खड्का र महासचिव विराज पाण्डेले यसलाई सफल बनाउन तयारी तीव्र पारिएको बताएका छन्। उनीहरूको भनाइमा यो मेला नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा अध्ययन गर्ने विश्वसनीय प्लेटफर्मका रूपमा प्रस्तुत हुनेछ।

नायर स्वयं अष्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी पारदर्शी र भरपर्दो परामर्श दिने उद्देश्यले स्थापना भएको संस्था हो। यसले शिक्षा मेला, अन्तरक्रिया तथा सेमिनारमार्फत विद्यार्थी र अभिभावकलाई आवश्यक मार्गदर्शन, भिसा प्रक्रिया, छात्रवृत्ति र अन्य शैक्षिक सेवाबारे सहयोग गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्