नेभिगेशन
संस्कृति

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिन उपत्यका रमाइलोमय

काठमाडौं। पहिलोपटक नेपालमा आयोजित नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद्, बबरमहलमा आयोजित औपचारिक कार्यक्रममा महोत्सवको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र दुवै समान रूपमा जिम्मेवार बन्नुपर्ने उल्लेख गरे। उनले लोकतन्त्रले सबैलाई समान अवसर दिने भएकाले प्राचीन धरोहरको जगेर्ना सामूहिक दायित्व भएको बताए। साथै, नेपालमा सांस्कृतिक सम्पदा हेर्न वर्षेनी लाखौँ पर्यटक आउने भएकाले संरक्षणमा अझ सचेत हुनुपर्नेमा जोड दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई विश्वसामु पुर्‍याउने सुनौलो अवसरका रूपमा लिनुपर्ने बताए। उनले यसलाई वार्षिक कार्यक्रमका रूपमा थप व्यवस्थित र विस्तृत ढंगले गर्ने योजना रहेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, नेपाल साहसिक र पर्वतीय पर्यटनका लागि मात्र होइन, कला र संस्कृतिको धरोहरका कारण पनि चिनिन सक्छ। उनले अफ–सिजन मानिने समयमा पनि यस्ता सांस्कृतिक प्रदर्शनीले पर्यटक तान्न सक्ने विश्वास व्यक्त गरे।

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले महोत्सवलाई भविष्यमा ‘वैश्विक सांस्कृतिक पर्व’ का रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए।

फेस्टिवल अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा २३ दिनसम्म ४० भन्दा बढी कार्यक्रम हुनेछन्। जसमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिने छन्। साथै, सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर पनि रहनेछ।

नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र नेपाल होटल व्यवसायी संघको संयोजनमा, काठमाडौं उपत्यका र निजी क्षेत्रको सहकार्यमा सुरु गरिएको यो महोत्सव इन्द्र जात्राको अवसर पारेर असोज ११ गतेसम्म चल्नेछ। “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु भएको यस महोत्सवले उपत्यकाका पुराना शहरलाई उत्सवमय बनाउन र नेपालको सांस्कृतिक गौरवलाई विश्वस्तरमा पुर्‍याउन सहयोग गर्ने आयोजकको विश्वास छ।

WhatsApp-Image-2025-09-05-at-20.32.37_8e5b3b50-1757070887.jpg
WhatsApp-Image-2025-09-05-at-20.32.37_4296cf99-1757070887.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्