काठमाडौं । पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले अन्याय गरेको गुनासो गरेकी छन्। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले भावुक सन्देश पठाएकी हुन्।
भण्डारीले पार्टीको निर्णयअनुसार राष्ट्रपति बनेर जिम्मेवारी पूरा गरे पनि अहिले पार्टी सदस्यतामै प्रश्न उठाइएको उल्लेख गर्दै यो अवस्थाले आफूलाई पीडा दिएको बताइन्। “२०३७ सालमा लिएको सदस्यता मेरो आस्था र विश्वासको प्रतीक हो। राष्ट्रपति भएर फर्किएपछि पनि पार्टीमा योगदान दिन चाहँदा सदस्य बन्न नदिने प्रयास हुनु दुःखद विषय हो,” उनले लेखेकी छन्।
उनका अनुसार यो प्रश्न व्यक्तिगत मात्र नभई सबै सदस्यका अधिकारसँग सम्बन्धित छ। भण्डारीले आफ्नो जीवनको लामो समय पार्टी, जनता र मुलुकका लागि समर्पण गरेको स्मरण गर्दै अनेक संघर्ष र चुनौती सामना गर्दा कहिल्यै हार नमानिएको उल्लेख गरेकी छन्।
पत्रमा उनले थपेकी छन्, “माथि उठाइएको प्रश्न मेरो आत्मरक्षाका लागि मात्र होइन, पार्टीको सबल भविष्यका लागि हो। यसलाई तपाईंहरूले अधिकारको रक्षा र दिगो एकताको पक्षमा बुझ्नुहुनेछ भन्ने विश्वास लिएको छु।”