नेभिगेशन
राजनीति

राजनीति ठिक हुने वित्तिकै देशले उन्नती र प्रगती गर्न सक्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीति सही दिशामा गए मात्र देशले समृद्धि र प्रगति हासिल गर्न सक्ने बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवस कार्यक्रममा उनले राजनीति नै देश निर्माणको आधारभूत क्षेत्र भएको भन्दै यसलाई सही बाटोमा ल्याउन सके मात्र अन्य क्षेत्रमा पनि सुधार सम्भव हुने स्पष्ट पारे।

सभामुख घिमिरेले भने, “देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति हो। राजनीति ठीक भए देशले प्रगति गर्छ, अनुसन्धान र नयाँ प्रयोगमार्फत अघि बढ्छ। तर राजनीति गलत दिशामा गयो भने सबै क्षेत्रमा त्यसको नकारात्मक असर पर्छ, जुन कुरा हामीले भोगिसकेका छौं।”

त्यस्तै, उनले संसदले कसरी काम गरिरहेको छ, कसरी गर्नुपर्छ र राजनीतिलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने जिम्मेवारी पूर्वसांसद मञ्चले सम्हाल्दै आएको भन्दै आगामी दिनमा पनि यसैगरी योगदान गर्न आग्रह गरे।

उनले थपे, “संविधानले तोकेको संरचना र सरकार सञ्चालनका काम संसद र कार्यपालिका मार्फत कसरी अघि बढिरहेका छन् भन्ने विषयमा तपाईंहरूले चासो दिइरहनु भएको छ। आगामी दिनमा पनि यही जिम्मेवारी निरन्तरता दिन आवश्यक छ।”

सो अवसरमा सभामुख घिमिरेले पूर्वसांसदहरूको उपचारका लागि राज्यले न्यूनतम सुविधा सुनिश्चित गर्ने विषयमा सरकार, मन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए।

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले पूर्वसांसदहरूलाई बिर्सन नहुने उल्लेख गर्दै, “सांसद पद सकिएपछि उनीहरूको योगदान बेवास्ता गर्न मिल्दैन। लोकतन्त्रका लागि दिएका बलिदानलाई सम्झनुपर्छ,” भनिन्।

Photo-(12)-(1)-1756978771.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्