बुटवल — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले रुपन्देहीमा पार्टीले एक्लै चुनाव लड्ने तयारी गरेको र यसबाट राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।
लुम्बिनी प्रदेश समिति सातौं पूर्ण बैठकलाई बुटवलको वेलबासमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेताकार्यकर्तालाई स्वतन्त्र रूपमा चुनावी तयारी गर्न निर्देशन दिए।
उनले भने, “हालैका विभिन्न कार्यक्रममा कांग्रेस–एमाले नेताहरूले पनि परिवर्तन माओवादीकै योगदान हो भन्ने स्वीकारेका छन्। म उनीहरूलाई सधैं यो कुरा जनतालाई भन्न आग्रह गर्छु। परिवर्तनको आन्दोलनमा माओवादीको भूमिका अस्वीकार गर्न सकिँदैन। त्यसैले रुपन्देहीमा यसपटक हामीले अझ राम्रो परिणाम ल्याउनेछौं। एक्लै चुनाव लड्न तयार हुनुपर्छ।”
पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई उनले वर्गसंर्घषको स्वाभाविक प्रक्रिया भने। ऐतिहासिक क्रान्तिकारी आन्दोलनहरूको उदाहरण दिँदै प्रचण्डले यस्ता कुरा विश्वव्यापी रूपमा देखिने गरेको उल्लेख गरे।
त्यसैगरी, उनले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई दिएको जिम्मेवारी भएको भन्दै त्यसका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले विशेष अभियान सुरु गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, देशभरका वडाबाट जनयुद्ध र जनआन्दोलनमा संलग्न सहिद, घाइते र जेलनेल भोगेका सबैको विवरण संकलन गरी केन्द्रमा पठाइनु पर्नेछ।
प्रचण्डले हाल पार्टीप्रति जनताको विश्वास पुनः बढिरहेको दाबी गर्दै त्यसबाट डरिएका प्रतिक्रियावादी र बिचौलिया शक्तिहरू माओवादी आन्दोलनविरुद्ध सक्रिय भए पनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने विश्वास व्यक्त गरे।
-1756688990.jpeg)