काठमाडौं — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले अछाममा छाउ बार्ने क्रममा महिलाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अब कांग्रेसले मात्र होइन, सबै राजनीतिक दलहरूले छाउ लगायतका विभेदविरुद्ध ठोस अभियान सुरु गर्नुपर्ने धारणा राखेकी छिन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–८, बरालाको सेरापानीस्थित चुरेखोली टोलमा महिनावारीका बेला त्रिपालमा बसेकी एक महिला र बालिकाको ढुंगाले थिचिएर ज्यान गएको घटनालाई उनले सामाजिक सञ्जालमार्फत दुःखद र अस्वीकार्य भन्दै स्थानीय नेतृत्वले यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिइन्।
उनका अनुसार, महिनावारीलाई अशुद्ध ठानी ‘भगवान रिसाउँछन्’ भन्ने अन्धविश्वासका कारण आफ्नै छोरी–बुहारीलाई मृत्युको जोखिममा धकेल्नु मान्य छैन। उनले छाउ प्रथाविरुद्ध कांग्रेसले तत्काल अभियान चलाउनुपर्ने र २००७ सालको हलो क्रान्तिको विरासतलाई निरन्तरता दिन ढिलो गर्न नहुने पनि बताइन्।
डा. संग्रौलाले आफ्नो पार्टीका सदस्यहरूले समेत छाउ बार्ने प्रथा जबर्जस्ती गराए कारबाही गर्ने चेतावनी दिँदै, आवश्यक परे पार्टीबाट निष्कासन गर्नुपर्ने विचार समेत राखेकी छिन्।
उनले अझै पनि गाउँघरमा गहिरो गरी जरा गाडेको यो कुप्रथा अन्त्य गर्न सरकार, राजनीतिक दल र नागरिक समाज सबैले संयुक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याइन्।
यो घटना अछाममा पहिलो होइन। गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा पनि छाउगोठमा सुतेकी कमला आउजी सर्पदंशका कारण ज्यान गुमाएकी थिइन्। अधिकारकर्मीहरूको तथ्यांकअनुसार, पछिल्ला २० वर्षमा छाउगोठमा बस्दा कम्तीमा २६ महिलाले ज्यान गुमाइसकेका छन्।
नेपाल सरकारले २०७४ सालमा छाउपडी प्रथालाई अपराध घोषणा गरेको भए पनि यसको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन। कानुन अनुसार छाउपडीलाई अपराध मानिए पनि धेरै ठाउँमा महिलाहरूलाई महिनावारीको समयमा घर बाहिर, छाउगोठ वा त्रिपालमा बस्न बाध्य पारिन्छ।
यस्ता असुरक्षित परिस्थितिमा उनीहरूलाई स्वास्थ्य समस्या, मानसिक पीडा, यौन हिंसासम्मको खतरा रहने तथ्य विभिन्न अध्ययनले देखाएका छन्।