नेभिगेशन
संस्कृति

‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करण सम्पन्न, चार जना उत्कृष्ट फेशन डिजाईनरहरु सम्मानित

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी ‘आई आई एफ टी’ स्कूल अफ फेशन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा फेशन डिजाइन प्रतिस्पर्धा एवम् प्रस्तुति सम्पन्न भएको छ । ‘ड्रेस टु इम्प्रेस’ नाम दिएको १३ औँ संस्करणको उक्त फेशन डिजाइन प्रतियोगिता शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।

Dress-to-Impress-2026-1783847446.jpeg

यो प्रतिस्पर्धामा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका १५५  विद्यार्थीहरूले आफ्नो फेशन डिजाइन प्रस्तुत गरे । ती डिजाइनहरू चार फरक अवधारणा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वल्र्ड’, ‘ग्यालाक्टिक फेशन’ र ‘अ पारालाल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।

यी चार ‘सिक्वेन्स’मा भएको प्रतिस्पर्धामा उत्कृष्ट चार डिजाइनर चयन सहित समारोहमा पुरस्कृत भएका छन् । जस अन्तर्गत ‘डान्सिङ विथ द स्टार्स’मा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. २४ प्रेशा थापाले र यही विधामा पब्लिक च्वाईस अवार्ड प्रतियोगी नं. २१ सुजाता खनालले जितिन् । यस्तै ‘अराउन्ड द वल्र्ड’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि सुस्मिता ढुंगानाले र पब्लिक च्वाईस अवार्ड पनि सुस्मिताले नै जितिन् ।

त्यस्तै ‘ग्यालाक्टिक फेशन’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. १०८ जया थापा र पब्लिक च्वाइस अवार्ड डिजाइनर नं. ८४ अनुराधा बोहरा कार्कीले जिते । यस्तै ‘अ पारालाल युनिभर्स’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको पुरस्कार प्रतियोगी नं. ११६ सृजना श्रेष्ठले र पब्लिक च्वाईस अवार्ड श्रीति पाण्डेले हासिल गरे । समारोहमा हरेक विजेताले जनही २० हजार रुपैयाँ, हरेक पब्लिक च्वाईस विजेताले जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारसमेत प्राप्त गरे । 

Dress-to-Impress-Group-1783847650.png

काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा ‘ड्रेस टु इम्प्रेसको १३ औँ संस्करणमा प्रस्तुत नयाँ डिजाइनका फेशन हेर्न फेशन प्रेमीहरूको उपस्थित हल भरी थियो । करिब तीन घण्टासम्म चलेको यो फेशन डिजाइन प्रस्तुतिमा ‘आई आई एफ टी’ बागबजार र ‘आई आई एफ टी’ कुमारीपाटीका विधार्थीहरुको फेशन कलाले दर्शकको मन जित्यो । समारोहमा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता, मिस इको  इन्टरनेसनल मिस सेजल राजभण्डारी एवम् सञ्चारकर्मी ओसिन सिटौलाको आतिथ्य फेशन प्रस्तुतिले कार्यक्रमको माहौल अझ भव्य बनेको थियो । 

चमक धमक सहितको आकर्षक लाइट, लयबद्ध संगीतका तालमा क्याटवाक गर्दै भव्य स्टेजमा डिजाईनरहरुले आफ्ना डिजाइन आफैँ मोडल बनेर प्रस्तुत गर्दा सो कार्यक्रम अन्तर्राष्ट्रिय फेशन सो झैँ देखिएको थियो । आफूहरूले विधार्थीहरुको फेसन डिजाइन प्रस्तुति ‘ड्रेस टु इम्प्रेस' लाई भव्य बनाउन हरेक वर्ष कुनै कसर बाँकी नराखेको आइआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए ।

समारोहमा विधार्थीहरुबिच भएको फेसन डिजाइन प्रतिस्पर्धाको निर्णायकहरूमा अग्रज फेशन डिजाइनरहरू मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेशन डिजाइनर महेश महर्जन रहेका थिए । फेशन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्