काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले बुधबार पदभार ग्रहण गरेकी छन्। सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पद सम्हालेकी हुन्।
पदभार ग्रहण समारोहमा बोल्दै सभापति न्यौपानेले समिति विधेयक र ऐन निर्माणमा केन्द्रित हुने भएकाले आफू गम्भीरताका साथ जिम्मेवारीमा आएको बताइन्। उनले सदस्यको हैसियतले पहिले पनि समितिमा सक्रिय रहेको उल्लेख गर्दै, समितिमा दर्ता भएका विधेयकहरूलाई समन्वय गरी सकेसम्म छिटो पारित गर्ने प्रतिबद्धता जनाइन्।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षी दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, अन्य समितिका सभापति लगायतको उपस्थिती रहेको थियो।
समिति सभापतिका लागि अरू कसैले उम्मेदवारी नदिएकाले नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन्।