काठमाडौं, ११ भदौ । देवनागरी लिपि मेटिने गरी सरकारले रोमन लिपिमा इम्बोस्ड नम्बर प्लेट लाद्न खोजेको भन्दै जाग नेपाली ले अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ। बुधबार नयाँ बानेश्वरमा धर्ना तथा विरोध प्रदर्शन गर्दै उनीहरूले ७ बुँदे माग सार्वजनिक गरेका छन्।
मुख्य मागमा इम्बोस्ड नम्बर प्लेटको खारेजी, देवनागरी लिपिमा नम्बर प्लेट कायम गर्ने निर्णय, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल को राजीनामा रहेका छन्।
जाग नेपालीका संयोजक डा. दीपेश केसी ले देवनागरी लिपि सुरक्षित नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिए। उनले मन्त्री दाहाललाई “कमिशनको खेलमा लागेर विदेशी कम्पनीको इम्बोस्ड नम्बर प्लेट जबर्जस्ती थोपर्न खोजेको” आरोप लगाउँदै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
त्यसैगरी सत्य र न्याय खोजी अभियान का संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ ले इम्बोस्ड नम्बर प्लेटमा व्यापक भ्रष्टाचार भएको दाबी गर्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरे। उनले “देश र जनतामाथिको दोहनविरुद्ध अबको लडाइँ रोकिँदैन” भन्दै नागरिकलाई आन्दोलनमा सहभागी हुन आव्हान गरे।
नेपाल स्वतन्त्र नागरिक सञ्जाल का संयोजक दिनेश सुवेदी ले सरकारले जनतालाई भ्रममा पारी जबर्जस्ती इम्बोस्ड नम्बर प्लेट थोपरेको बताए। उनले देवनागरी लिपि मेट्ने मात्र नभई सुरक्षाका दृष्टिले पनि यो प्रणाली संवेदनशील भएको भन्दै तुरुन्त खारेज गर्नुपर्नेमा जोड दिए।
जाग नेपालीले भदौ ८ गते पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरेको थियो। संगठनले देशभर धर्ना, जुलुस र शान्तिपूर्ण विरोध कार्यक्रम निरन्तर गर्ने जनाएको छ।
जाग नेपालीले प्रस्तुत गरेका ७ बुँदे माग:
१. इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गर्नुपर्ने।
२. देवनागरी लिपिमा नम्बर प्लेट कायम गर्ने निर्णय सरकारबाट राजपत्रमा प्रकाशित गर्नुपर्ने।
३. इम्बोस्ड नम्बर प्लेटमा भएको भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने।
४. कमिशनको खेलमा संलग्न मन्त्री देवेन्द्र दाहाललाई बर्खास्त गरी विभागीय कर्मचारीमाथि छानबिन गर्नुपर्ने।
५. असंवैधानिक आदेशमार्फत इम्बोस्ड नम्बर प्लेट लागू गराउन भूमिका खेलेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथि महाभियोग लगाउनुपर्ने।
६. नेपाली नागरिकको व्यक्तिगत डाटाको सुरक्षा सुनिश्चित गर्नुपर्ने।
७. नेपालका भाषा, लिपि, संस्कृति र परम्परामाथि आक्रमण नहुने ग्यारेन्टी गर्नुपर्ने।
जाग नेपालीको भनाइअनुसार, देवनागरी लिपि नेपालको राष्ट्रिय पहिचान हो र यसको संरक्षण नभएसम्म आन्दोलन रोकिँदैन।
