काठमाडौं – नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता रोकिने कुनै कारण नभएको बताएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भण्डारीलाई राजनीति गर्न कसैको अनुमति आवश्यक नपर्ने स्पष्ट पारे।
थापाले भने, “विद्या भण्डारी राजनीतिमा अघि बढ्नुहुन्छ। उहाँले आ–आफ्नो पार्टी आफैं बनाउनु भएको हो, त्यसैले इन्ट्री दिनु पर्ने कुरा नै हुँदैन। उहाँ अहिले पनि एमालेमै हुनुहुन्छ, एमालेको नेतृ हुनुहुन्छ र एमालेका कार्यकर्ता तथा जनताले उहाँलाई मन पराएका छन्।”
उनका अनुसार, पार्टीभित्र दुई किसिमका नेता हुन्छन्—पदका आधारमा बनेका नेता र जनसमर्थनका आधारमा बनेका नेता। पद गुमे पनि जनसमर्थन भएका नेताले निरन्तर उदय भइरहने उनको भनाइ थियो। “विद्या भण्डारीको सक्रियता निरन्तर अघि बढ्छ, जनताले नै निर्णय गर्छन्,” उनले भने।
थापाले एमाले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिएको भन्दै कुनै नागरिक अधिकार संकुचन गर्न नसकिने टिप्पणी गरे। उनले भण्डारीको सदस्यता वा पार्टी प्रवेशबारे विभिन्न टिप्पणी आएको प्रसंगलाई भने वास्ता नगर्ने बताए।
उनले थपे, “विद्या भण्डारीले नेपालको लोकतन्त्र, गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाको स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएको छ। उहाँको गरिमा, इज्जत र प्रतिष्ठामा आँच आउने खालका अभिव्यक्ति दिनु हुँदैन भन्ने एमाले केन्द्रीय कमिटीको निष्कर्ष छ।”
थापाले गम्भीर विषयमा पार्टीले बलमिच्याइँ वा आवेगका आधारमा होइन, असर–प्रभावलाई हेरेर मात्र निर्णय गर्ने बताएका छन्।