अधिवक्ता स्वागत नेपालले भ्रष्टाचार अन्त्यका लागि मृत्युदण्ड अनिवार्य व्यवस्था हुनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्वीय दर्शनले समेत मृत्युदण्डलाई स्वीकार गर्ने उल्लेख गर्दै भ्रष्टाचार गर्नेका लागि अन्तिम सजाय मृत्युदण्ड बाहेक केही हुन नसक्ने दाबी गरे।
उनले मनुस्मृतिमा बलात्कारीलाई लिङ्ग काट्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै भने, “भ्रष्टाचार गर्नेको एउटै अन्तिम कानूनी व्यवस्था मृत्युदण्ड हो। हिन्दु दर्शनले दण्डलाई स्वीकार गर्छ। त्यसैले भ्रष्टाचार विरुद्ध अन्तिम विकल्प मृत्युदण्ड नै हो।”
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे टिप्पणी गर्दै उनले नेपाल–भारत सम्बन्धमा देखिएको असन्तुलन औंल्याए। उनका अनुसार, भारतमा १० वर्षमा दुईजना मात्र प्रधानमन्त्री हुँदा नेपालमा ११ जना प्रधानमन्त्री भइसकेका छन्। उनले भने, “यस्ता सस्तो नेताहरुलाई रातो कार्पेट ओच्छ्याएर स्वागत गर्नुको कुनै अर्थ छैन। अहिले नेपालको परराष्ट्र नीति पृथ्वीनारायण शाहले भनेझैं ‘दुई ढुङ्गाबीचको तरुल’ नभई ‘दुई तरुणबीचको ढुङ्गा’ जस्तो भएको छ। हामी ढुङ्गाजस्तै बनेका छौं।”
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जेल सरुवाबारे पनि उनले टिप्पणी गरे। सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि रूपन्देही कारागारमा रहेका लामिछानेलाई काठमाडौं सरुवा गर्नु आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनसँग प्रत्यक्ष सम्बन्धित रहेको उनको भनाइ छ।
उनले भने, “लामिछानेलाई त्यही जेलमा राख्दा भेट्न आउनेको चहलपहल बढ्थ्यो र रास्वपाको पक्षमा चुनावी माहोल बलियो बन्छ भन्ने खतरा देखेर सरकार बाध्य भएर उनलाई काठमाडौं सारिएको हो। यो कुनै दया मायाले गरिएको होइन, राजनीतिक हिसाबले मात्र गरिएको कदम हो।”