नागरिक समाजका वरिष्ठ अगुवा डा. सुन्दरमणि दीक्षितले नेपाल विकासबाट पछि परिरहनुको मुख्य कारण भ्रष्टाचार भएको बताएका छन्। उनले नेपाल प्रगति नहुनुमा पहिलो दोष भ्रष्टाचार र दोस्रो दण्डहीनता रहेको भन्दै मृत्युदण्डको व्यवस्था नभएको पनि समस्या भएको टिप्पणी गरे।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. दीक्षितले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिबाट अवकाश दिनुपर्ने धारणा राखे। उनका अनुसार विदेशीमाथि भर नपरी नेपालीले नै देश बनाउनुपर्ने समय आएको छ।
उनले प्रमुख तीन दलका नेताहरूलाई "तीन टाउके मन्स्टर" को संज्ञा दिँदै देशलाई यिनीहरूले बोझ बनाएको बताए। उनले भने, “राष्ट्रिय जीवन यिनीहरूले धान्न नसक्ने अवस्थामा पुगेको छ। २००७ सालदेखि भएका आन्दोलनहरू पनि अन्ततः सम्झौतामै टुंगिएका छन्। नेताहरूले पूरानो कुरा नयाँ स्वरूपमा पस्किँदै आएका छन्।”
डा. दीक्षितले देशले ठूलो क्रान्तिको आवश्यकता रहेको औंल्याए। उनको भनाइमा, हालको प्रणालीले नेताहरूलाई मात्र पोष्ने काम गरेको छ भने जनता र राष्ट्र लाभान्वित हुन सकेको छैन। जनयुद्धपश्चात् प्रचण्ड र उनका नजिकका व्यक्तिहरू मात्र फाइदा पाएको आरोप उनले लगाए। एमालेलाई उनले “घाँटी कटुवा पार्टी” भन्दै सो पार्टी र त्यसका नेताहरूले मात्र लाभ लिएको दाबी गरे।
प्रधानमन्त्री ओलीले हालै मदन भण्डारीमाथि समेत प्रहार गरेको आरोप लगाउँदै उनले ओलीको सन्तुलनमा प्रश्न उठाए। मदन जयन्तीको अवसरमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उनले असन्तुष्टि व्यक्त गरे।
भ्रष्टाचारलाई सबै बेथितिको जड ठहर गर्दै डा. दीक्षितले संसदीय प्रणाली नै यसलाई बढावा दिने व्यवस्थाको रूपमा रहेको बताए। उनले भने, “अब कार्यकारी प्रमुखको प्रणालीमा जानु जरुरी छ। प्रधानमन्त्री होस् वा राष्ट्रपति, तर देशलाई चलाउने बलियो कार्यकारी आवश्यक छ। संसदवाद अब राष्ट्रका लागि अभिशाप बनेको छ। बाहिरबाट योग्य मन्त्री ल्याउन सक्ने व्यवस्थासहित चेक एण्ड ब्यालेन्सको व्यवस्था हुनुपर्छ।”