नेभिगेशन
राजनीति

भारतसँग आर्थिक सम्बन्ध विस्तारमा जोड दिनुपर्छ : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीचको सम्बन्ध केवल रोटी–बेटीमै सीमित नभई आर्थिक क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताएका छन्।

भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा उनले दुई देशबीचको सहयोग निरन्तर जारी रहेको स्मरण गराउँदै बहुआयामिक सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

“हाम्रो सम्बन्ध ऐतिहासिक छ—महाभारत, रामायण कालदेखि आजसम्म। सांस्कृतिक, सामाजिक मात्र होइन, छिमेकी र पारिवारिक सम्बन्धले पनि नेपाल–भारतलाई बाँधेको छ,” महरले भने। उनले दुई देशबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गर्दै भारतलाई शुभकामना पनि दिए।

भारत अहिले विश्वको तेस्रो ठूलो अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले भारतसँग थप आर्थिक अपेक्षा राखेको महरको भनाइ छ। “हामी आर्थिक सम्बन्ध बढाउन चाहन्छौं। नेपालका सीपयुक्त युवालाई भारतको बजारमा अवसर दिनुपर्छ,” उनले आग्रह गरे।

नेपाल सानो देश भए पनि सार्वभौमिकता र अखण्डताप्रति दृढ रहेको बताउँदै महरले राष्ट्रिय अखण्डतालाई बलियो बनाउने दिशामा काम गर्नुपर्नेमा जोड दिए।

फरक प्रसंगमा उनले कांग्रेस–एमालेबीच सरकार गठनका बेला भएको सातबुँदे सहमति अझै कार्यान्वयन नभएको टिप्पणी गरे। “सहमति भए पनि कार्यान्वयनमा ढिलाइ भएको सत्य हो। अब सरकारले द्रुत गतिमा काम अघि बढाउनुपर्छ,” उनले स्पष्ट पारे।

उनका अनुसार सरकारले निष्पक्ष, प्रभावकारी र जनता–केन्द्रित ढंगले काम गर्न आवश्यक छ। भ्रष्टाचारसहितका संवेदनशील मुद्दामा जनतामा आशा जाग्नेगरी प्रतिबद्धता गरिएको भए पनि त्यो कार्यान्वयन हुन नसकेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओली यसमा अझ सतर्क हुनुपर्ने सुझाव पनि महरले दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्