नेकपा (एमाले) का वरिष्ठ नेता विशाल भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्ने समय निश्चित गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई उक्त प्रतिवेदन बुझाउन उपयुक्त अवसरको रूपमा उपयोग गर्न आग्रह गरेका छन्।
भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै भट्टराईले सीमा विवाद समाधानको विषय पनि भारतसँग उठाउनुपर्नेमा जोड दिए। उनले भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गरे।
भट्टराईले प्रधानमन्त्री ओली १४ महिनापछि भदौको अन्त्यतिर भारत भ्रमणमा जाने जानकारी दिँदै यस भ्रमणप्रति चासो बढेको बताए। उनले निकट भविष्यमा चीन भ्रमण पनि तय भएको जानकारी दिए।
उनका अनुसार भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार नेपाल आउने छन् र सोही भ्रमणपछि मात्र ओलीको भारत भ्रमणको एजेण्डा टुंगो लाग्नेछ। “अहिले हामी प्रारम्भिक छलफलको चरणमा छौं, औपचारिक एजेण्डा तय भएको छैन,” भट्टराईले स्पष्ट पारे।
एमाले नेता भट्टराईले नेपाल–भारतबीचको ऐतिहासिक र घनिष्ट सम्बन्ध स्मरण गर्दै १८ सय किलोमिटर लामो सिमाना तथा सांस्कृतिक–व्यापारिक सम्बन्धलाई बलियो पार्नुपर्ने बताए। उनले अघिल्लो कार्यकालमा ओली नेतृत्वमै चीनसँग पारवाहन सम्झौता गरेर भारतको एकाधिकार तोडिएको पनि उल्लेख गरे।
उनले प्रधानमन्त्री ओलीकै पालामा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको संविधानको अनुसूचिमा राखिएको स्मरण गराउँदै भारतसँगको व्यापारिक कारोबार करिब ६० प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरे। साथै, करिब सात लाख नेपाली भारतमा रोजगारीमा रहेको र नौ लाख भारतीय नेपालमा काम गरिरहेको बताए।
भट्टराईले भने, “भारतसँगका पुराना समस्या समाधान हुनैपर्छ। भारतीय प्रधानमन्त्री मोदीले इपिजीको प्रतिवेदन बुझ्ने समय दिनुपर्छ। लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हो, तथ्यले यसलाई प्रमाणित गर्छ।”
उनले यस्तो विषय उठाउँदा नेपाल–भारत सम्बन्ध बिग्रिने हो कि भन्ने आशंका हुने गरेको तर यो राष्ट्रिय हितको मुद्दा भएको प्रष्ट्याए। “यो उग्र कूटनीति होइन, राष्ट्रिय हितको सवाल हो,” उनले भने।
साक्षात्कारमा उनले कांग्रेस–एमालेबीचको सत्ता साझेदारी आगामी ०८४ को निर्वाचनसम्म कायम रहने विश्वास व्यक्त गरे। उनका अनुसार ११ महिनापछि प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्नेछन्, जुन सातबुँदे सहमतिअनुसार टुंगो भइसकेको विषय हो।
भट्टराईले आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच स्वस्थ प्रतिस्पर्धा हुने बताए। तर, गठबन्धन नभई सहकार्य कायम रहने उनको भनाइ थियो।
उनले वर्तमान सरकारले तुलनात्मक रूपमा राम्रो काम गरिरहेको दाबी गर्दै नेपालमा अति नकारात्मक प्रचार फैलिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे। “गालीगलौजको संस्कार अन्त्य गर्नुपर्छ। राजनीतिक स्थायित्व र सकारात्मक सोच नै विकासको आधार हो,” भट्टराईले निष्कर्ष प्रस्तुत गरे।