नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले पार्टीमा विपी कोइरालाको विचार र सिद्धान्त क्रमशः लोप हुँदै गएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेस अब विपीको आदर्शबाट च्युत भएको दाबी गरे।
उनका अनुसार पार्टीले सिद्धान्तभन्दा सत्ता र स्वार्थलाई प्राथमिकता दिन थालेको छ। “विपी बाबुको विचार र सिद्धान्तअनुसार स्थापना भएको कांग्रेस अहिले त्यो बाटोबाट धेरै टाढा पुगिसकेको छ,” उनले भने, “चुनावमा जान गठबन्धन गरिन्छ, अनि भोट हालिन्छ — सीमित नेताहरूको मिलिभगतले खाने व्यवस्था मिलाउन।”
पाण्डेले नेपाली कांग्रेस अहिले आफ्नो पहिचान गुमाउँदै गएको बताए। आफू २०३७ सालदेखि भावनात्मक रूपमा पार्टीमा आबद्ध भए पनि अहिले गर्वका साथ कांग्रेसको परिचय दिन नसकिने अवस्था आएको उनले बताए। “आज म नेपाली कांग्रेस भन्न पनि लाज मान्छु,” उनले भावुक हुँदै भने, “अब ठीक र बेठीक छुट्याउने बेला आएको छ।”
उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा संविधान संशोधनका लागि सात बुँदे सहमति भए पनि त्यसलाई कार्यान्वयनमा नल्याएकोप्रति असन्तोष जनाए। “संविधान संशोधन केका लागि भनेर जनतालाई जवाफ दिनुपर्छ,” उनले भने, “सिर्फ प्रधानमन्त्री बाँडफाँट गर्ने र सरकार चलाउने हिसाबले संविधान फेरिने हो भने त्यो गलत हो।”
नेता पाण्डेले पार्टी अनुशासन समितिले हालै गरेका कारबाहीहरूप्रति पनि गम्भीर आपत्ति जनाउँदै ती कारबाहीहरू यथावत् नराखिनुपर्ने बताए। “म न शेखर पक्षको हुँ, न संस्थापन पक्षको — म विपी पक्षको कांग्रेस कार्यकर्ता हुँ,” उनले स्पष्ट पारे, “अहिले कार्यकर्तामाथि गरिएको कारबाही अन्यायपूर्ण छ। त्यो जस्तो कारबाही जस्तै तरिकाले फिर्ता लिनुपर्छ। अनुशासन समितिले बेमौसमको बाजा बजाएको छ।”
