काठमाडौं — नेपालमा बढ्दो इलेक्ट्रिक सवारी साधन बजारलाई लक्ष्य गर्दै लक्ष्मी ई-मोबिलिटीले चिनियाँ ब्रान्ड Forthing को पहिलो इलेक्ट्रिक SUV नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। यो गाडी NAIMA 2025 अटो शो अन्तर्गत श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा सार्वजनिक गरिनेछ।
लक्ष्मी समूह, जसले Hyundai, BMW, Kaiyi, SML Isuzu जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा वितरण गर्दै आएको छ, अब Forthing लाई पनि आफ्नो पोर्टफोलियोमा थप्दैछ। समूहले गत वर्ष नवलपरासीको रामग्राममा सञ्चालनमा ल्याएको Laxmi Motor Corporation नेपालकै पहिलो फोर-ह्वीलर गाडी एसेम्बली प्लान्ट हो।
Forthing ब्रान्ड नेपालमा ६४.४ kWh ब्याट्री र ९९ kW मोटरयुक्त प्रिमियम SUV मार्फत प्रवेश गर्दैछ, जसले ४०० किमि भन्दा बढीको दायरा तय गर्न सक्ने अनुमान छ। गाडीमा स्मार्ट डिजाइन, नवीनतम प्रविधि र प्रयोगकर्ता-मैत्री विशेषता समावेश गरिएको छ।
लक्ष्मी समूहले EV पूर्वाधार सुदृढ पार्न ‘RE-Lax’ नामक चार्जिङ र मर्मत केन्द्रहरूको ६३ भन्दा बढी सञ्जाल स्थापना गरिसकेको छ।
NAIMA 2025 नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको रूपमा आयोजना हुँदैछ, जहाँ इलेक्ट्रिक मोबिलिटी र दिगो यातायात समाधानहरू मुख्य आकर्षण हुनेछन्। लक्ष्मी ई-मोबिलिटीले यस सहकार्यमार्फत नेपालमा वातावरणमैत्री तथा अत्याधुनिक सवारी समाधान प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको जनाएको छ।