नेभिगेशन
राजनीति

चुरेको दोहनले मधेश मरुभूमीकृत, समाधानका लागि तीनै सरकार एक हुनुपर्छ : चन्दन सिंह

जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले चुरे क्षेत्रको अत्यधिक दोहन र जलवायु संकटका कारण मधेश मरुभूमीकरणतर्फ उन्मुख भएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेशमा देखिएको खडेरी समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताए।

सिंहले भने, “प्राकृतिक स्रोतको अत्यधिक दोहन र जलवायु संकटको असरका कारण पानी परेन, खेत चिराचिरा भए, र खेती प्रभावित भयो। चुरे दोहन यस समस्याको मुख्य कारण हो।” उनले सिचाईंको पूर्ण व्यवस्था नभएसम्म मधेशमा कृषि संकट समाधान नहुने स्पष्ट पारे।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा सिंहले अधिकारको अभावमा अपेक्षित काम गर्न कठिन भएको स्वीकार गरे। “संविधानअनुसार अधिकार प्रत्योजन हुनुपर्छ,” उनले जोड दिए।

उनले अहिले मधेशका गाउँ–टोलमा पानीको स्रोत सुकेको, जमिनमुनिको जलस्रोतसमेत सुक्दै गएको जानकारी गराउँदै, सुनकोशी–मरिन–कमला नदीनालीमार्फत सिचाईं विस्तारको आवश्यकता औंल्याए। “मधेश सिँचाइमा सक्षम भए देश भोकमरीबाट जोगिन सक्छ,” उनले भने।

सिंहले खडेरीको समाधानका लागि संघीय सरकारसँग राहत माग गरिएको र प्रधानमन्त्रीले सहयोगको आश्वासन दिएको जानकारी पनि गराए। प्रदेश सरकारले पानी वितरणका लागि वारुणयन्त्र परिचालन गरिरहेको समेत उनले बताए।

उनले मधेशमा चार दलको संयुक्त सरकार रहेको उल्लेख गर्दै भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि साझा संयन्त्र बनाउनु पर्ने प्रस्ताव राखे। “जनमत पार्टीले मात्र सरकार चलाएको होइन, प्रणाली पुरानै छ,” उनले भने, “जनमतले भ्रष्टाचार गर्‍यो भन्ने आरोप तथ्यहीन हो।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्