नेभिगेशन
राजनीति

लिलानाथ श्रेष्ठको टिप्पणी : "ओली सि जिनपिङभन्दा कम छैनन्, भण्डारीको सदस्यता अझै खारेज भएको छैन"

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता अहिलेसम्म खारेज नभएको स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित कार्यक्रममा उनले भण्डारीको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सदस्यताको विषयमा उचित समयमा निर्णय हुने बताए।

श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अत्यन्त राष्ट्रवादी नेताका रूपमा चित्रण गर्दै उनलाई चिनियाँ राष्ट्रपति सि जिनपिङभन्दा कम नभएको दाबी गरे। उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा सीमा मुद्दा उठाउने, नाकाबन्दी हटाउने, चीनसँग पारवाहन सन्धि गर्ने लगायतका काम ओलीको राष्ट्रवादी नेतृत्वको प्रमाण भएको बताए।

मधेस प्रदेशमा देखिएको खडेरीका विषयमा बोल्दै श्रेष्ठले जलवायु परिवर्तन र वन विनाशलाई प्रमुख कारण माने। उनले चुरे क्षेत्रमा पोखरी निर्माण, वृक्षारोपण, र तराईलाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने सुझाव दिए। संसदमा पिउने पानी र खडेरी राहतसम्बन्धी प्रस्तावसमेत दर्ता गराएको जानकारी गराए।

अन्त्यमा, श्रेष्ठले सरकारले चालु वर्षमा निर्यात, राजस्व वृद्धि र मिर्गौला रोगीहरूलाई दिइएको सहुलियत जस्ता क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्