नेकपा (माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाहीले माओवादी पार्टी वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले–कांग्रेसको गठबन्धनले जनताले अपेक्षा गरेजस्तो सुशासन, विकास र समृद्धि दिन नसकेको आरोप लगाए।
उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार सीमित समूह र दलालहरूको हितमा बनेको भन्दै, जनताको अपेक्षा पूरा गर्न नसक्ने सरकारलाई टिकाइराख्दा झनै क्षति हुने दाबी गरे।
शाहीले सत्ता समीकरणमा व्यापक चलखेल भइरहेको स्वीकार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू समेत सक्रिय रहेको बताए। उनले कांग्रेस नेता डा. शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावना अस्वीकार गर्न नसकिने भन्दै वर्तमान अस्थिर राजनीतिक अवस्थाले जे पनि सम्भव बनाएको उल्लेख गरे।
फरक प्रसंगमा उनले केपी शर्मा ओली नेतृत्वमा वाम एकता असम्भव भएको दोहोर्याए। उनले माओवादी केन्द्रले कांग्रेसलाई गठबन्धन तोड्न भनेको नभए पनि, अप्ठ्यारो परे साथ दिन तयार रहेको स्पष्ट पारे।