नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पूर्वराष्ट्रपतिहरू सक्रिय दलगत राजनीतिमा फर्किनु नेपालको संविधानको भावना विपरीत हुने बताएका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले राष्ट्रको प्रमुख, संविधानको संरक्षक र नेपाली सेनाको परमाधिपतिको जस्तो गरिमामय पद सम्हालेको व्यक्तिले दलगत राजनीतिमा फर्किनु उचित नहुने बताए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक सक्रियताप्रति संकेत गर्दै उनले भने, “पूर्वराष्ट्रपतिले फेरि दलको सदस्यता खोज्दै राजनीतिमा फर्किनु गम्भीर अप्रजातान्त्रिक र पदलोलुपताको विषय हो।”
उनले नेपालको संविधान बहुदलीय लोकतान्त्रिक प्रणालीमा आधारित रहेको स्मरण गराउँदै भने, “यो कम्युनिष्ट सोचमा आधारित संविधान होइन। यसले राष्ट्रप्रमुखलाई निष्पक्ष राख्ने अपेक्षा गर्छ। संविधानअनुसार सबै दलको सिफारिसमा राष्ट्रप्रमुख नियुक्त हुने भए पनि त्यो व्यक्ति दलको सदस्यता त्यागेर सर्वोच्च पदमा पुगेको हुन्छ। त्यसैले फेरि दलको राजनीतिमा फर्कनु संविधानको मर्म विपरीत हुन्छ।”
त्यसैगरी, नेता भट्टराईले देशको राजनीतिक अस्थिरताको मुख्य कारण वर्तमान निर्वाचन प्रणाली भएको उल्लेख गरे। उनले भने, “जबसम्म निर्वाचन प्रणालीमा संशोधन गरेर स्थिर सरकार निर्माणको दिशा तय हुँदैन, तबसम्म सरकारहरू बदलिरहन्छन् र दलभित्रको चलखेल पनि जारी रहन्छ।”
उनका अनुसार, संविधान संशोधन नगरी देशको लोकतन्त्र बदनाम हुने खतरा रहन्छ। “जनता निराश भइरहेका छन्, त्यसैले सबैभन्दा पहिला संविधानमा सुधार आवश्यक छ,” उनले जोड दिए।
फरक प्रसंगमा नेता भट्टराईले कांग्रेसको १५औं महाधिवेशन विधानले तोकेको समयसीमाभित्रै हुने स्पष्ट गरे। उनले ढिलोमा २०८३ सालको मंसिरभित्र महाधिवेशन सम्पन्न गरिने दाबी गरे।
उनले भने, “विधानले दिएको समयसीमा भित्र महाधिवेशन गराउनैपर्छ। यसमा कसैले पनि आलटाल गर्न मिल्दैन, त्यो छुट कसैलाई छैन। देशभरिका कांग्रेस कार्यकर्ताहरू एकजुट भएर महाधिवेशन सम्पन्न गर्नुपर्छ।”
