नेभिगेशन
राजनीति

पूर्वमन्त्री साहको प्रश्न: "राजमार्ग निर्माणमा सरकारको विभेद, विकासको गति सुस्त"

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकका प्रमुख राजमार्गहरूको दयनीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारको विभेदकारी नीति र विकासमा देखिएको ढिलासुस्तीप्रति प्रश्न उठाएका हुन्।

साहले देशका सम्पूर्ण राजमार्गहरू अस्तव्यस्त अवस्थामा रहेको उल्लेख गर्दै निर्माण कार्यमा एकरूपता नदेखिएको गुनासो गरे। “राज्यका लागि महत्वपूर्ण राजमार्गहरूमा काम सुस्त छ, तर नेताहरूको स्वार्थ जोडिएका स्थानमा भने तीव्र गतिमा सडक निर्माण भइरहेको छ,” उनले भने।

महत्वपूर्ण परियोजनाहरूको प्रगतिमा प्रश्न उठाउँदै उनले सोधे, “महेन्द्र राजमार्गको काम किन ढिलो भयो? हुलाकी राजमार्ग निर्माण किन गतिहीन छ? बुटवल–नारायणघाट सडक किन अलपत्र छ?” साथै, उनले मुग्लिन–पोखरा र मुग्लिन–नौबिसे सडकखण्डको अवस्था पनि उस्तै रहेको उल्लेख गरे।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनले भने, “७० किलोमिटर लामो यो मार्गको एक इन्च पनि पिच भएको छैन, तर त्यही समयमा सुरु भएको मध्यपहाडी लोकमार्गमा झण्डै ८५ प्रतिशत काम सकिएको छ।”

फास्ट ट्र्याकको जिम्मा पाएको नेपाली सेनामाथि समेत टिप्पणी गर्दै साहले सेनालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए। “नेपाली सेनाप्रति जनतामा ठूलो आस्था छ, तर अहिले सेनाको प्रतिष्ठामा आँच आउने काम भइरहेको छ,” उनले भने।

उनले सडक निर्माणको नाममा सरकारले अनियमितता र भ्रष्टाचारको संरक्षण गरिरहेको आरोपसमेत लगाए। “सरकार आफैँ सडक बनाउने नाममा लुटिरहेको छ,” साहको आरोप थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्