काठमाडौं — नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार जनअपेक्षा अनुसार चल्न नसकेको टिप्पणी गर्दै, प्रमुख नेताहरूले अब आत्मसमीक्षा गरेर सुधार गर्नु पर्ने बेला आएको बताएका छन्। काठमाडौंमा आयोजित सरकारको एक वर्षे समीक्षा कार्यक्रममा बोल्दै उनले सरकारबाट जनताले महसुस गर्नुपर्ने प्रभाव र आशा अझै कमजोर रहेको बताए।
उनका अनुसार दुई ठूला दलको सरकार हुँदा जनतामा सुशासन र आर्थिक समृद्धिको अनुभूति हुनुपर्ने हो तर त्यो अवस्था नआएको स्पष्ट पारे। “जनताले सरकार भएको अनुभूति गर्न पाउनुपर्थ्यो, तर त्यसमा कमी छ,” उनले भने।
खड्काले सत्ता सन्तुलन राष्ट्र र जनताको हितमा केन्द्रित हुनु पर्नेमा जोड दिँदै व्यक्तिगतरूपमा स्वार्थ पूर्ति गर्न गठबन्धन बनाइनु नहुने बताए। उनले चेतावनी दिए, “यदि यो गठबन्धन असफल भयो भने देशमा ठूलो दुर्घटना निम्तिन सक्छ। दुई ठूला दल मिलेर पनि स्थायित्व र सुशासन दिन नसक्ने हो भने लोकतन्त्र नै जोखिममा पर्छ।”
उनले विशेषगरी युवा पुस्तामा देशप्रति भरोसा जगाउन सरकार असफल भइरहेको उल्लेख गरे। “देश अहिले रेमिट्यान्समा चलेको छ, यो दीर्घकालीन समाधान होइन। युवालाई राज्यभित्रै भविष्य देखाउने खालको वातावरण बनाउन जरुरी छ,” उनले भने।
राजनीतिक प्रणाली र वित्तीय अनुशासन कमजोर हुँदै गएको भन्दै उनले भ्रष्ट्राचारको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। “जहाँसम्म आर्थिक अनुशासन कायम हुँदैन, त्यहाँ सुशासन सम्भव हुँदैन। अहिले त्यो अनुशासन अराजकतापूर्ण दिशामा गइरहेको छ,” खड्काले टिप्पणी गरे।
उनका अनुसार अब देउवा र ओलीजस्ता नेताहरूले आफूबाटै सुधारको सुरुवात गर्नुपर्छ। “शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ, केपी शर्मा ओली पनि तीन–चार पटक प्रधानमन्त्री बन्नुभयो। अब यी नेताहरूले आत्मसमीक्षा गरेर देश र जनताको केन्द्रमा राखेर जवाफदेही शासन दिनुपर्छ,” उनले भने।
खड्काले गलत गर्नेहरूलाई कारबाही नगरी सुशासन सम्भव नहुने स्पष्ट पारे। “गलत गर्नेहरूलाई कारबाही गर्नु सरकारको दायित्व हो। मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर गल्ती गर्नेहरूलाई संरक्षण दिन मिल्दैन,” उनले भने।
अन्त्यमा, उनले संविधान संशोधन पनि सबैको अपनत्व हुने गरी राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइनु पर्नेमा जोड दिए। दुई ठूला दलको जिम्मेवारी राष्ट्र र जनताको हितमा काम गरेर लोकतन्त्रलाई मजबुत बनाउनु हो भन्ने उनको निष्कर्ष थियो।