काठमाडौं — नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार आरोपमा तानिएका मन्त्रीहरुमाथि प्रधानमन्त्रीले अविलम्ब कारबाही गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित सरकारको एक वर्षे समीक्षा कार्यक्रममा बोल्दै उनले पार्टीले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको जानकारी दिएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुससम्बन्धी अडियो प्रकरणलाई उदाहरण दिँदै गौतमले सुशासनको सवालमा गम्भीर प्रश्न उठेको बताए। “आज सुशासन ओझेलमा पर्ने अवस्था आएको छ, मन्त्रीहरुनै भ्रष्टाचारको सौदाबाजीमा सार्वजनिक हुँदैछन्। यस्तो अवस्थामा प्रधानमन्त्रीले तत्काल कारबाही गर्नु जरुरी छ,” उनले भने।
उनका अनुसार पार्टीले यस विषयमा गम्भीरता पूर्वक जानकारी लिई प्रधानमन्त्रीसँग संवाद गरिसकेको छ, र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बन्धित मन्त्रीसँग छलफल गरिसकेको पुष्टि गरे। “सरकारको उद्देश्यअनुसार काम गर्न नसक्ने, संविधान, कानुन र संस्थाको मर्यादा नबुझ्ने मन्त्रीहरूमाथि अब निर्णय आवश्यक छ,” गौतमले जोड दिए।
कार्यक्रममा गौतमले सरकार अस्थिरता घटाउन सफल भएको भन्दै आर्थिक सूचकहरूमा पनि सकारात्मक परिवर्तन आएको दाबी गरे। उनले भने, “जटिलता हुँदाहुँदै पनि सरकारले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। आर्थिक वृद्धिदर ३.८७ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको छ, यो सुखद संकेत हो।”
उनले वर्तमान सरकारले निजी क्षेत्रसँग विश्वासको सम्बन्ध कायम गरेको र दायित्व भुक्तानीमा समेत वृद्धि गरेको बताए। आर्थिक सुधार अपेक्षाकृत नभए पनि उल्लेखनीय रहेको उनले उल्लेख गरे।
संविधान संशोधनका सन्दर्भमा उनले कांग्रेस–एमालेसहितको गठबन्धनले संसदमा दुई तिहाइ बहुमत नपुगेसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढ्ने प्रष्ट पारे। “संविधान संसोधन कानुनी र संवैधानिक प्रक्रियामार्फत हुन्छ, र त्यो गर्नका लागि दुई तिहाइ बहुमत अपरिहार्य छ,” गौतमले स्पष्ट पारे।
उनले राष्ट्रिय सहमति प्राप्त भएपछि मात्र संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताएका छन्।