राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सांसद पशुपति शमशेर जबरा नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित भएका छन्।
शुक्रवार, काठमाडौंको प्रज्ञा भवनमा आयोजित विशेष समारोहमा जबराको ८४औं जन्मोत्सवको अवसर पारेर विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा उहाँलाई सम्मान गरिएको हो। नेपालको राजनीति, समाज, अर्थतन्त्र तथा शिक्षा क्षेत्रमा उहाँले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै जनसम्मान प्रदान गरिएको जनाइएको छ।
उक्त कार्यक्रम ५० भन्दा बढी संस्थाको समन्वयमा सम्पन्न भएको थियो। सम्मान ग्रहण गरेपछि सांसद जबराले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै बाल्यकालदेखि नै देशसेवामा समर्पित रहँदै आएको बताए। बुवाको निधन हुँदा आफू केवल १२ वर्षको मात्र भएको उल्लेख गर्दै उनले आफ्ना पुर्खाले देखाएको बाटो पछ्याउँदै देशको सेवामा निरन्तर सक्रिय रहँदै आएको बताए।
राजनीतिक जीवनमा मन्त्री पद सम्हाल्दै जनताको सेवा गरेको स्मरण गर्दै जबराले आफ्नो पारिवारिक पृष्ठभूमि पनि राजनीतिसँग गहिरो रूपमा जोडिएको बताए। दरबारिया परिवेशमा हुर्किए तापनि त्यसबेलाको राजनीतिमा लाग्न निकै चुनौतीपूर्ण रहेको उनले बताए। देशका विभिन्न भागको भ्रमण गर्दै जनताको सुखदुःख बुझ्ने प्रयास गरेको समेत उनले उल्लेख गरे।
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जबरालाई नेपाली राजनीतिमा चासो राख्ने सबैका लागि खुला विश्वविद्यालयको संज्ञा दिए। लिङदेनले जबराले झन्डै ६ दशकसम्म विभिन्न राजनीतिक प्रणालीहरू—पञ्चायतदेखि गणतन्त्रसम्म—सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
जनसम्मान मूल समारोह समितिका अध्यक्ष नवीन शाहीले जबराको दीर्घकालीन योगदानको प्रशंसा गर्दै उहाँलाई "ज्यूँदो इतिहास"को संज्ञा दिए। शाहीले जबराको नेपाली राजनीति, संस्कृति तथा राष्ट्रसेवामा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले जबराको लोकतान्त्रिक विकास, राष्ट्रिय एकता, संविधानको रक्षा तथा समावेशी समाज निर्माणप्रतिको योगदान अमूल्य रहेको धारणा व्यक्त गरे।
