काठमाडौं — नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमविरुद्ध चलाइएको मुद्दा झुटो भएको दाबी उनका कान्छा छोरा डा. मोहम्मद राजिक आलमले गरेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राजिकले एमाले नेता शैलेन्द्र साहको प्रतिशोधका कारण उनका बाबुविरुद्ध मुद्दा लगाइएको आरोप लगाए। राजपुर नगरपालिकाका मेयरसमेत रहेका राजिकले २०६४ सालको निर्वाचनमा बम विस्फोट भएको भनिएको दिन कुनै पनि घटना नभएको दाबी गरे।
उनले मुद्दाको सुरुवात नै साहले अफ्ताब आलमलाई फसाउने नियतले गरेको बताए। साथै, मुद्दामा साक्षी बनाइएका गौरिशंकर राम चमारलाई प्रहरीले जबरजस्ती बयान दिलाएको र एक वर्षसम्म थुनेर राखिएको आरोप पनि लगाए।
अधिवक्ता सञ्जिवकुमार मल्लिकले गौरिशंकरले अदालतमा स्टोभ विस्फोटबाट घाइते भएको बयान दिएको प्रमाण प्रस्तुत गर्दै अफ्ताब आलम निर्दोष रहेको दाबी गरे। उनीहरूका अनुसार बम विस्फोटको कुनै ठोस प्रमाण आजसम्म प्रस्तुत गरिएको छैन।