काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिको अखडा बनाउने प्रयास रोक्न चेतावनी दिएका छन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा राजनीति गर्ने ठाउँ नरहेको बताएका हुन्।
एनपीएलका विषयमा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच जारी विवादबीच ओलीले मन्त्री चौधरीलाई खेलकुदको समग्र विकासमा लाग्न निर्देशन दिएका छन्। उनले राखेपद्वारा गठन गरिएको कार्यदलको निर्देशनमा एनपीएलको काम रोकिएकोप्रति असन्तुष्टि जनाउँदै क्यानलाई भव्य तयारी गर्न आदेश दिए।
सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’को उद्घाटन कार्यक्रममा उनले भने, “खेलमा राजनीति होइन, विकास हुनु पर्छ। पोलिटिक्सका लागि यहाँ स्थान छैन।”
प्रधानमन्त्री ओलीले कर्णालीमा पटक-पटक सारिएको राष्ट्रिय खेलकुद अब मंसिरमा निश्चित रूपमा गर्न निर्देशन दिए। उनले कीर्तिपुर रंगशालाको पहिलो चरणको निर्माण भएको उल्लेख गर्दै दोस्रो चरणमा थप विस्तार गर्ने योजना रहेको बताए।