नेभिगेशन
राजनीति

नेविसंघले त्रिवि सिनेट बैठकको वैधता अस्वीकार, विद्यार्थी प्रतिनिधिबिना बैठक 'अमान्य' भन्दै आन्दोलनको चेतावनी

रिपोर्ट: दिनेश चौधरी

काठमाडौं, असार २६ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सिनेट बैठक विद्यार्थी प्रतिनिधिको सहभागिता बिना बोलाइएकामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तीव्र आपत्ति जनाएको छ। संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो बैठकलाई 'अवैध' घोषित गर्दै कडा विरोध व्यक्त गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, "विद्यार्थी प्रतिनिधिविहीन सिनेट बैठक अमान्य हो। विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यताको प्रत्याभूति गरिनु पर्दछ भन्ने हाम्रो माग पहिलेदेखि स्पष्ट छ।"

नेविसंघले देशभरि चलिरहेको हस्ताक्षर संकलन अभियान उल्लेख गर्दै सो अभियानमार्फत विश्वविद्यालयमा पारदर्शिता र योग्यताको पक्षमा विद्यार्थी समुदायबाट व्यापक समर्थन प्राप्त भएको दाबी गरेको छ।

साथै, प्रधानमन्त्री एवं कुलपतिले सिफारिसको आधारमा उपकुलपति नियुक्त गर्नु निन्दनीय भएको भन्दै यदि विद्यार्थीको आवाजलाई उपेक्षा गरिएमा चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि नेविसंघले दिएको छ।

विज्ञप्तिमा सिनेट बैठकलाई अलोकतान्त्रिक, अपारदर्शी र सम्पूर्ण विद्यार्थी समुदायप्रति गरिएको गम्भीर अपमानका रूपमा लिइएको स्पष्ट गरिएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको उक्त बैठकमा नेविसंघले तत्काल विधिवत् ढंगले विद्यार्थी प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न माग राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्